सोभन शर्मा ११ / १० / २०२४
सोभन शर्मा- महागुरु फाल्गुनन्दको पढ्नुपर्ने कुरा।
आज १४० औँ जन्म जयन्ती ! महा गुरु फाल्गुनन्दको कुरा जति गरेपनि कमै हुन्छ। यस लेखको माध्यम वाट उहाँको बारेमा बुझेका केहि कुरा यहा प्रस्तुत गर्न खोजेको छु।
महागुरु फाल्गुनन्द अर्थात् फाल्गुनन्द लिङ्देन, नेपालका किरात धर्मका महान् गुरु र प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो। लिम्बू, राई, सुनुवार, याख्खा, लोहोङ, धिमाल, र जुरेल समुदायमा उहाँले गहिरो सम्मान प्राप्त गर्नुभएको थियो। १० नोभेम्बर १८८५ मा इलाम जिल्लामा जन्मनुभएको फाल्गुनन्दले किरात धार्मिक परम्परालाई बचाउन र निरन्तरता दिन निकै ठूलो योगदान दिनुभयो। उहाँ शुद्ध शाकाहारी मध्यपान रहित सरल जीवनशैलीमा विश्वास गर्नुहुन्थ्यो । लिम्बू परम्पराको सम्मानलाई उहाँले जीवनको आधार मान्नुभएको थियो।
एक आध्यात्मिक नेताका रूपमा, फाल्गुनन्दले समाज सुधारका लागि धेरै ठूला कदमहरु उठाउनुभएको थियो। जन्म, विवाह र मृत्यु संस्कार जस्ता अवसरहरूमा अनावश्यक खर्च थप्ने पशु बलि निषेध गराउन उहाँले तीव्र आवाज उठाउनुभयो। उहाँ शिक्षालाई आत्मशुद्धिका लागि प्रमुख माध्यम ठान्नुहुन्थ्यो र बालबालिकाको शिक्षाका लागि मातृभाषामा पढाइ हुनुपर्ने कुरामा समेत विश्वास राख्नुहुन्थ्यो।शिक्षालाई वास्तविक मुक्तिको मार्ग उहाँले ठान्नुभएको थियो।
फाल्गुनन्दको दर्शन प्रेम र अहिंसामा आधारित छ। उहाँले शान्ति र करुणाका सन्देश दिनुभयो र उहाँका अनुयायीहरूलाई समेत यी कुराहरुले गहिरो असर पारेको देखिन्छ । सन् १९४९ मा उहाँको निधन भएको थियो । उहाँको योगदानको सम्मान गर्दै, नेपाल हुलाक सेवा विभागले १९९३ मा उहाँको नाममा हुलाक टिकट जारी गरेको थियो। उहाँलाई नेपालका राष्ट्रिय विभूति का रूपमा समेत सम्मान दिइएको छ।उहाँको आदर्शहरूले आज पनि धेरैलाई प्रेरित गरिरहेका छन्।