• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English

६९ प्रतिशतले बढ्यो निर्यात

Card image cap

काठमाडौँ, ९ वैशाख  चालू आर्थिक वर्ष २०७८÷७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो । विभागको तथ्याङ्कअनुसार नौ महिनामा रु एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट रु ९४ अर्ब ७६ करोड ७१ लाख बराबरको सामान निर्यात भएको थियो । चालू आवको नौ महिनामा निर्यातसँगै आयातमा समेत वृृद्धि भएको छ । नौ महिनामा ३१ दशमलव ९७ प्रतिशतले आयातमा वृद्धि हुँदै रु १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख बढीको आयात भएको छ । तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा रु ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख बढीको आयात भएको थियो । २८ प्रतिशतले बढ्यो व्यापार घाटा निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । चालू आवको नौ महिनामा रु साढे १४ खर्ब बढीको आयात हुँदा २८ दशमलव ४७ प्रतिशतले व्यापार घाटा बढेको हो । चालू आवको नौ महिनामा नेपालले रु १३ खर्ब छ अर्ब ८९ करोड बढीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालले रु १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो । यस्तैगरी चालू आवको नौ महिनामै नेपालको वैदेशिक व्यापार ३४ दशमलव ९१ प्रतिशतले बढेको छ । यस अवधिमा रु १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख बराबरको पुगेको भन्सार विभागले जनाएको छ । तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा रु बाह्र खर्ब छ अर्ब १६ करोड २५ लाख बराबरको वैदेशिक व्यापार भएको थियो । दुई खर्बको पेट्रोलियम पदार्थको आयात भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८÷७९ को पहिलो नौ महिनाको तथ्याङ्कअनुसार नेपालले रु दुई खर्ब बराबरको पेट्रोलियम पदार्थको आयात गरेको छ । नौ महिनाको अवधिमा नेपालले डिजेल, पोट्रोल र खाना पकाउने एलपी ग्यासका लागि रु एक खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो । तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा सबैभन्दा बढी डिजेलको आयात भएको छ । यस अवधिमा रु एक खर्ब पाँच अर्ब ९७ करोड ५३ लाख ९५ हजार बढीको डिजेल र रु ४७ अर्ब २३ करोड ९७ लाख ८० हजार बढीको पेट्रोलको आयात भएको हो । रु ४५ अर्ब ३४ करोड २५ लाख १८ हजार बढीको खाना पकाउने एलपी ग्यासको आयात भएको छ । नौ महिनाको अवधिमा रु ४५ अर्ब ५८ करोड ११ लाख ११ हजारको सोयाविन तेल, रु ३२ अर्ब चार करोड ७८ लाख बराबरको पाम तेल, रु ३१ अर्ब ८५ करोड ३६ लाख बराबरको खोप र रु २८ अर्ब ५४ करोड ९० लाख बराबरको सुन आयात भएको छ । १६२ देशबाट आयात विभागले सार्वजनिक गरेको चालू आवको पहिलो नौ महिनाको अवधिमा नेपालमा १६२ देशबाट रु १४ खर्ब ६६ अर्ब बढीको आयात भएको छ । तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । नौ महिनामा नेपालले भारतबाट रु नौ खर्ब १७ अर्ब २४ लाख बढीको आयात गरेको छ भने रु एक खर्ब २७ अर्ब ८९ करोड ५४ लाख बराबरको निर्यात गरेको छ । नेपालले भारतसँग मात्रै रु सात खर्ब ७३ अर्ब ८० करोड ७० लाख बढीको व्यापार घाटा व्यहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट नौ महिनामा रु दुई खर्ब ११ अर्ब पाँच करोड ८० लाख बराबरको आयात भएको छ भने रु ६२ करोड २८ लाख ६२ हजारको मात्र निर्यात भएको छ । चीनसँग मात्र रु दुई खर्ब १० अर्ब ४२ करोड ५१ लाख बराबरको व्यापार घाटा रहेको छ । रासस


Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved