सरकारले आठ महिनापछि आयातमा लगाएको प्रतिबन्ध खुला गरेको छ। आउँदो पुसदेखि लागू हुने गरी गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरिएको हो। मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले आयातमा लाग्दै आएको प्रतिबन्ध खुला गर्ने गरी सैद्धान्तिक निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिेएका छन्।
मुख्यसचिवको संयोजकत्वमा गठित कमिटीले आयातमा गरिएको बन्देज खुलाउन सिफारिस गरेको थियो। त्यही सिफारिसका आधारमा मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिसलाई स्वीकृत गरी आयात खुला गर्ने निर्णय गरेको मन्त्री बडूले बताएका छन्। आयात प्रतिबन्धको समय यही मङ्सिर २९ गतेसम्म रहेकाले त्यसपछि आयात खुला हुने उहाँले जानकारी दिेएका छन् । मुख्यसचिवको संयोजकत्वमा गभर्नर, अर्थ सचिव, वाणिज्य सचिव रहेको समितिले अहिलेको परिस्थिति विश्लेषण गरेर ‘आयात प्रतिबन्ध गर्नु आवश्यक छैन, खोल्नुपर्छ’ भनेर सुझाव दिएकाले त्यसबारेमा मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको मन्त्री बडूले जानकारी दिेएका छन्।।
विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सरकारले गत वैशाख १३ गते १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो। तीमध्ये भदौमा छ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाई बाँकी चार प्रकारका वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको थियो । आयात प्रतिबन्ध खुला गरेसँगै पुसदेखि सबै प्रकारका निजी चारपाङ्ग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र तीन सय डलरमाथिका मोबाइल फोन आयात गर्न पाइनेछ। मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएपछि आयात प्रतिबन्ध फुकुवा हुन्छ।