वालिङ (स्याङ्जा), ९ माघ : स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छ । भिरकोट –७ का वडाध्यक्ष एवं सुन्तला सुपरजोन स्याङ्जाका सञ्चालक समिति अध्यक्ष ताराप्रसाद अर्यालले आफ्नो वडामा यसवर्ष सुन्तला बिक्रीबाट रु ११ करोड बढी भित्रिएको जानकारी दिए । करिब एक सय घरपरिवारले व्यावसायिकरूपमा सुन्तला उत्पादन गर्दै आइरहेका उनले बताए । “यस वडाका अधिकांश किसान व्यावसायिकरूपमा सुन्तलाखेतीमा आबद्ध हुनुहुन्छ”, अध्यक्ष अर्यालले भने, “यहाँ यस वर्ष सबैभन्दा थोरैमा रु ५० हजारदेखि लिएर धेरैमा रु ३० लाखसम्म आम्दानी गर्नुभएको छ ।”